नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
अभिनेता विपिन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लुट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान बनायो ।
फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थाले तापनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् । उनी हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन् ।
‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याए । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे । फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन् ।
उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन् । प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन् । ‘म चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिनँ । यद्यपि म भने फरक रूपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु ।’
उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन् । प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ । अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन् । ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ। उनको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले मजस्तो कलाकारलाई ऊर्जा दिन्छ’, अभिनेता राईले भने।
अभिनेता राई र कार्कीले लुट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन् । उनी दुई अभिनित पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदै छ ।