नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का छन् भने महामन्त्री थापाको प्रस्तावकमा डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।
थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै निर्वाचन लगत्तै संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । संसदीय दलको नेताको निर्वाचन बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
यसअघि आज बिहान होटल एम्बास्डरमा बसेको थापा र डा. शेखर कोइराला पक्षको बैठकमा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । संसदीय दलको नेतामा डा शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी भएपछि डा. कोइरालासँग महामन्त्री थापाको सोमबार र मंगलबार दुई दिन भएको छलफलपछि गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।