नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । आज (बुधबार) बिहान ८:४५ बजेबाट सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु भएको निर्वाचनको मतदान सकिएको हो । निर्वाचनको मतगणना केहीबेरमा सुरु हुनेछ ।
निर्वाचनमा ८९ जना सांसदले मतदान गरेका छन् । बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो ।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन् । सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का छन् भने महामन्त्री थापाको प्रस्तावकमा डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।