नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा नजाने बताएका छन् । आज (बुधबार) संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग पराजित भएसँगै महामन्त्री थापाले आफू भावी सरकारमा नजाने बताएका हुन् ।
बुधबार भएको संसदीय दलको निर्वाचनमा थापा देउवासँग ३९ मतान्तरले पराजित भएका छन् । संसदीय दलको नेता चयनको मतपरिणाम सार्वजनिक भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले संसदीय दलका नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्ने र सरकारमा आफू सामेल नहुने बताएका छन् ।
उनले दलको नेताका लागि नै फेरि प्रयास गर्ने भन्दै आफूले पाएको मत अपेक्षाभन्दा कम भएको बताए । उनले प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने बताएका छन् । उनले भने, म सरकारमा सामेल हुन्न । सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु ।’
त्यस्तै थापाले कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुने स्पष्ट पारे । ‘कांग्रेसको नाममा हुने कुनै पनि निर्णय पारदर्शी भएनन् र सम्बन्धित कमिटीभित्र छलफल भएनन् भने व्यक्तिगत निर्णय हुनेछ । अर्को पार्टीसँग कुनै समझदारी गर्छ भन्यो भने पार्टीसँग संस्थागत भए कांग्रेसले बोक्छ नभए आलोपालो भन्ने अँध्यारो कोठाभित्र गरिए कांग्रेसले बोक्दैन । हामीले मानिदैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन,’ थापाले भने । यस्तै उनले राष्ट्रपति पदका सन्दर्भमा पनि खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने बताए ।