नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज (सोमबार) बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

यद्यपि श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टंगो लागेको छैन । श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् । उनी राष्ट्रिय सभाका सांसद हुन् ।माओवादी सहित ७ दल र तीन जना स्वतन्त्र सांसदहरु बीचको बैठकले मन्त्रालयको विषयमा टुंगो लगाउने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । गठबन्धन बैठक आज विहान ११ बजे नयाँ बानेश्वरमा बस्नेछ ।



त्यस्ता महराले माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको बताए । आइतबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो ।

सम्बन्धित समाचार