नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
त्यस्तै बैठकले पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता महराले जानकारी दिए । आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।