नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको भन्दै यसको अधिकतम पहल गर्ने बताएका छन् । सोमबार शपथग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने बताए ।
उनले सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन समेत दिए । मन्त्री लामिछानेले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताउँदै गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले उक्त मन्त्रालय रोजेको स्पष्ट पारे । उनले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए ।
‘आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु’, उनले भने, ‘आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।’
गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा आफू लाग्ने उनको भनाइ छ । आफूले स्वतन्त्ररूपमा कसैलाई विभेद नगरी बराबरी रूपमा कार्यसम्पादन गर्ने अधिकार सबैलाई प्रदान गर्ने बताए । हरेक निर्णय स्वतन्त्र र विश्वसनीयरूपमा गरेर प्रशासनका माध्यमबाट जनताका लागि न्याय दिइने उनको प्रतिबद्धता छ ।