नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । महोत्तरी, पिपरा गाउँपालिका-५ चादनी चोकस्थित जनकपुर जलेश्वर सडक साइडको कल्भर्टमा जमेको पानीमा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने भारत समस्तीपुर घर भएका ३५ वर्षीय अगलेष पोदार सोही ठाउँस्थित सडक पेटीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, दमक नगरपालिका-२ रामचोक बस्ने ५९ वर्षीय राम कुमार राई सोही ठाउँस्थित खाली खेतमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सुनसरी, इनरुवा नगरपालिका-५ बलाहास्थित चौधरी टोलमा डेरा गरी बस्ने सोही नगरपालिका-९ बबिया घर भएका ४० वर्षीय नरेश मेहता आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी गोरखा, सहिदलखन गाउँपालिका-९ नाम्जुङ बस्ने ४३ वर्षीय हरि परियार सोही ठाउँस्थित खोल्सोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यता नवलपरासी(पूर्व), मध्यविन्दु नगरपालिका-१ पत्वारी बस्ने ५५ वर्षीय बलराम कार्की सोही ठाउँस्थित पानीको सिचाईको नहरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार घरबाट निस्की हिँडेकोमा अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव पेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

