नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग आफूखुसी भेट्न रोक लगाउने निर्णय गरेको छ । बिहीबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।
सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिनुपर्ने गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यदि विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि प्रवक्ता पोखरेलले बताएका छन् ।
‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ । साथै, यस निर्देशन विपरीत कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति –