नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवायले जनाएको छ । यसअघि बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय गरेको थियो ।
त्यस्तै बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको थियो । गत पुस १० गते ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।