नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको भन्दै संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए । देउवाले नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीहरुको भावना अनुसार काम गर्ने दाबी गरे । ‘ प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ’ देउवाले भने ।
‘म माननीय सदस्यहरुलाई विषेश रुपले आग्रह गर्न चाहन्छु। यो प्रतिनिधि सभावाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो।यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो। संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी छ।संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यस अनुरुपका आवश्यक नीति र कानून बनाउनु छ। लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ।हाम्रो सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाहि नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्दछ।सबै माननीय साथीहरुमा म हार्दिक अपील गर्न चाहन्छु प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विषेश योगदान गर्न सकोस्। हामी सबै यसमा सफल हुन सकौं’ देउवाले भने। त्यस्तै उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।