नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्री जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस्तै शपथ लिएसँगै मुख्यमन्त्री जमकट्टेलले पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । जसमा मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापा रहेका छन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको र थापालाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जमकट्टेलले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको थियो ।