नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेपछि प्रतिनिधिसभाका सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्यलाई विशेष आभार प्रकट गरेका हुन् ।
‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।तपाईँहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ उपधारा (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।