सन्दीप भट्टराई
काठमाडौं, २७ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका हुन् । संविधानको धारा ७६ उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ उपधारा (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । उपस्थित सदस्यहरूमध्ये दाहालले २६८ मत पाएका छन् भने उनको विपक्षमा २ मत खसेको थियो । सरकारलाई समर्थन गरेका कांग्रेसका तीन सांसद किशोरसिंह राठोर, अम्बिका बस्नेत र मनोरमा शेरचन अनुपस्थित भए । कांग्रेसकै एक सांसद निलम्बित छन् । राप्रपाका पशुपतिशमशेर जबराले सभामुखको भूमिकामा रहेकाले मतदानमा भाग लिएनन् । प्रचण्डको विपक्षमा नेमकिपा र जनमोर्चाका १-१ सांसदले मतदान गरेका थिए ।
सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए । यही पुस १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा तथा २०७३ साउनमा नेपाली कांग्रेसको समर्थनमा दाहाल प्रधानमन्त्री भएका थिए ।
प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६ , नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमत्री नियुक्त भएका थिए ।
प्रचण्डलाई दुई तिहाइ बढी विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट ९९.२७ प्रतिशत सांसदको समर्थन प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका ८५, नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, जनता समाजवादी पार्टी (जसपा)का १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ र नागरिक उन्मुक्तिका ४ र ३ स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलबाट समर्थन प्राप्त गरेका हुन् । प्रचण्ड नेपालको संसदीय इतिहासमै संख्यामा दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गर्ने शक्तिशाली दोस्रो प्रधानमन्त्री बनेका छन् । यसअघि २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सर्वसम्मत बनेका थिए ।
प्रचण्डको विपक्षमा २ मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा २ मत खसेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले प्रचण्डको विपक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ ।
विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा भोटिङ
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मतदान भएको थियो । प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजनका आधारमा मतदान भएको हो । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नको जवाफ दिएसँगै सांसदहरूको दस्तखतसहित मत विभाजनका लागि रुलिङ गरेका थिए । मतदानको लागि संसद्मा पक्ष र विपक्षमा रहेका सांसदहरूलाई छुट्टाछुट्टै स्थान रहेको थियो ।
प्रधानमन्त्रीद्वारा सांसदप्रति आभार व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेपछि प्रतिनिधिसभाका सदस्यलाई विशेष आभार प्रकट गरेका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्यलाई विशेष आभार प्रकट गरेका हुन् ।
‘प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु । तपाईँहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।