प्रदेश १ को सभामुखमा बाबुराम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गाैतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा गाैतमको मात्रै उम्मेदवारी परेको हुनाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

गौतम ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्। आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । अरु कसैको उम्मेदवारी नपरेपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।



गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । गौतमले आजै दिउँसो १ बजे शपथ लिँदै छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । त्यस्तै प्रदेश १ मा उपसभामुखको निर्वाचन भने पुस ३० गते हुने भएकाे छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

 

सम्बन्धित समाचार