नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका छन् । माओवादीले शर्मालाई सूचना सञ्चार तथा प्रविधि, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ भने माओवादीले सरकारमा सामेल हुने एक राज्यमन्त्रीको भने टुंगो लाग्न बाँकी नै राखेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो भएको थियो । यसअघि माओवादीबाट प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री भइसकेका छन् ।