नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
प्रतिनिधिसभाका सभामुख पदका लागि निर्वाचन हुँदैछ । आज (बिहीबार) संघीय संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने जनाएको छ ।
सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने सभामुख पदका लागि प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे छन् भने न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस सांसद रमेश लेखक र एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।
आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने र मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्ने निर्देशन दिएको थियो । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।