नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पिँजडामा राख्न खोजेको आरोप लगाएका छन् । आज(बिहीबार) प्रतिनिधि सभाको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले यस्तो आरोप लगाएका हुन् ।
महामन्त्री शर्माले ओलीलाई उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर प्रधानमन्त्रीलाई पिँजडामा पार्न खोजिएको त हैन ? भनि प्रश्न गरेका छन् । त्यस्तै उनले कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको अभिव्यक्ति दिएका थिए ।
‘सदनमा प्रधानमन्त्रीलाई काम गर्नका लागि बलियो आधार बनोस् भनेर विश्वासको मत दिनु ढोक्सा थाप्नु होइन । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि प्रश्न उठाउनु र ढोक्सा थापियो भन्नु प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास हो । आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ’ महामन्त्री शर्माले भने ।