नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ माघ ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । आज (शुक्रबार) एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नवनिर्वाचित सभामुख घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् । ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ‘ घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बिहीबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएका थिए । बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।