नवकान्तिपुर संवाददाता
काठमाडौं, १० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन् ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा नमिल्दा मुख्यमन्त्री अधिकारी मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले यसअघि नै विश्वासको मत लिएपनि मन्त्रिपरिषद्लाई भने पूर्णता दिन सकेका छैनन् ।
त्यस्तै प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गरेका दाहाललाई प्रदेश प्रमुख शेरचनले बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।