नवकान्तिपुर संवाददाता
काठमाडौं, २० माघ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहान जिल्ला अदालत कैलालीमा बुझाएको थियो ।
अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । चौधरी कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टरमा आगजनी गरेको मुद्दामा सांसद चौधरीसहित तीन जनाविरुद्ध कैलाली जिल्ला अदालतबाट ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीलाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको थियो । यता नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ ।