माधव नेपालले सत्ता गठबन्धनले प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म थेग्छ भनेपछि…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन् । आज (शनिबार) बाट ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धन राष्ट्रपतिको निर्वाचन अघि नै टुट्ने दाबी गरे । अध्यक्ष नेपालले तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो भनि प्रश्न गर्दै सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचन सम्म थेग्न सक्ने अवस्था नरहेको बताए ।



‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं- खटपट सुरू भइसकेको छ’ उनले भने । उनले संविधानको रक्षा गर्नुपर्ने बताए । संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

त्यस्तै उनले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिस्ट पार्टी भएको बताएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी रहेको बताए । अध्यक्ष नेपालले प्रतिनिधि सभाको दोस्रो ठुलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी रहेको जिकिर गरे ।

यस्तै बैठकमा अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्ति लगायत विभिन्न राजनीतिक आयामहरुको बारेमा चर्चा गरिएको छ ।

सम्बन्धित समाचार