सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी अर्याल राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार, कांग्रेसले उम्मेदवारी नदिने

राष्ट्रियसभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रकी अर्याललाई उम्मेदवार बनाएको हो । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।

त्यस्तै नेपाली कांग्रेसले भने सराष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेको छ । आज (आइतबार)बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदावरी नदिने र माओवादी केन्द्रकी अर्याललाई समर्थन गर्ने निर्णय गरेको हो ।



राष्ट्रियसभाको उपाध्यक्षका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुने छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची आइतबार नै दिउँसो ४.१५ बजे प्रकाशित गरिने छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए । राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् ।

सम्बन्धित समाचार