नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (आइतबार) बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको सभापति लामिछानेले बताए ।
बैठकले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय पनि गरेको छ । रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।
गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको रास्वपालाई शनिबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय लिन प्रस्ताव गरेका थिए । त्यस विषयमा निर्णय लिन शनिबार रास्वपाको आकस्मिक बैठक बसेको थियो । रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन शनिबारसम्मको अल्टिमेटम दिएको थियो ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा दोषी ठहरिएर उपपधान तथा गृहमन्त्रीको पद गुमेपछि सो पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीको भागमा आउनुपर्ने माग राख्दैआएको छ । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता पुनः लिनुभएका सभापति लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटे पनि प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।
वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन् ।