मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-११ गणेशथान बस्ने ७४ वर्षीया मिना घले आफ्नै घरको सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै ओखलढुङ्गा, लिखु गाउँपालिका-८ सानी मझुवा बस्ने ७० वर्षीया मैया सार्की सोही ठाउँ कालिपानओ खोल्सोस्थित गोरेटो बाटोबाट करिब १० मिटर तल बुधबार मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँ डाँडाखर्कस्थित छोरीको घर गएकी उनी साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।



यस्तै रामेछाप, रामेछाप नगरपालिका-९ ल्याङल्याङ नुबुघाटस्थित सुनकोशी नदीको बिच पानीको भङ्गालोमा सिन्धुली सुनकोशी गाउँपालिका-६ बस्ने ६७ वर्षीय हस्त बहादुर राना मगर बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी दाङ, शान्तिनगर गाउँपालिका-१ आगरनेटा बस्ने १७ वर्षीय प्रमोद डाँगी सोही गाउँपालिका-५ गिदनियामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझ सोही गाउँपालिका-५ स्थित आफ्नै फुपुको छोराको जन्मदिन मनाउन गएको र खाना खाई घर जान्छु भनि हिँडेकोमा उनी घरमा नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

यसैगरी दाङ, लमही नगरपालिका-६ देउपुर बस्ने ५१ वर्षीय कैलाश डाँगी आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा रहेको सिँचाई कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, गढी गाउँपालिका-६ स्थित एनसीसी इँटाभट्टामा काम गरी बस्ने भारतको यूपी घर भएका ४० वर्षीय पवन कुमार सोही ठाउँस्थित कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता लमजुङ, मध्ये नेपाल नगरपालिका-७ रामबजारस्थित सार्वजनिक भवनमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार