नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ फागुन ।

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, कन्काई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर, बागमती गाउँपालिका-७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बागमती गाउँपालिका-७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

