नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ फागुन ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु प्रगति गल्लीस्थित सडक पेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-८ बानियाँटार बालुवापाटी डेरा गरी बस्ने मोरङ घर भएकी ४४ वर्षीया सीता राई आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता बाँके, डुडुवा गाउँपालिका-३ भगरास्थित राप्ती नदीमा राप्ती सोनारी गाउँपालिका-५ तिलहरिया बस्ने ८७ वर्षीय तिल बहादुर बुढा र उनकै श्रीमती ६७ वर्षीय बुद्धिमला बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनीहरू गत माघ १० गते घरबाट नेपालगंज जान्छौं भनि हिँडेकोमा घर फर्की नआएपश्चात खोजी गर्ने क्रममा उक्त नदीमा उनीहरूको शव फेला परेको हो । साथै मृतकहरुको साथबाट ९ लाख ४१ हजार ४ सय रुपैयाँसमेत फेला परेको छ ।
त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-१ शंकनगर सामुदायिक वनको सुखौरा खोलाको छेउमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित दुधौरा पुल र बालगंगा पुलको बीच सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका-५ बस्ने ५५ वर्षीय पुण्य प्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने इलाम घर भएकी ३६ वर्षीया सरु अर्याल राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यता धनकुटा, महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७० वर्षीय मान बहादुर बस्नेत आफ्नै घरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बस्नेतको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । उता रौतहट, गौर नगरपालिका-२ स्थित सुदर्शन आँखा अस्पताल नजिक भारत घर भएका ६० वर्षीय श्याम बहादुर यादव शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता प्युठान, ऐरावती गाउँपालिका-१ देउराली बस्ने बुद्विराम सोमैको घरमा अर्घाखाँची ढाकावाङ घर बताउने मागी खाँदै हिड्ने ८० वर्षीय कृष्ण खनाल शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

