जनकपुरधाममा होलीका अवसरमा आज महामूर्ख सम्मेलन हुँदै

जनकपुरधाममा होलीका अवसरमा महामूर्ख सम्मेलन हुँदैछ । आज (मंगलबार) होलीका अवसरमा जनकपुरधाममा महामूर्ख सम्मेलन हुन लागेको हो ।

दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ । महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।



कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि वितरणका साथै मूर्ख र महामूर्खलाई सम्मान तथा प्रेमोपहार वितरण गर्ने उनले बताए । अघिल्लो वर्ष ‘महामूर्ख’को उपाधि मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा‍. भोगेन्द्र झालाई प्रदान गरिएको थियो । २०६१ मा जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो ।

दुईदिवसीय होरी महोत्सवअन्तर्गत सोमबार जोगिरा गीत प्रतियोगिता सम्पन्न भएको थियो । होली महोत्सवमा सहभागी भएका होरैया टोलीलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्ने बताइएको छ।

सम्बन्धित समाचार