
लिभिङ्ग वाटर नेपालको पहलमा ककनी गाउँपालिका वडा नं. ७, बरबन्दीमा खानेपानीको पाइप विछ्याउने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । खानेपानीको चरम समस्या भोगिरहेका बरबन्दीका स्थानीयहरु खानेपानी गाउँसम्म पुर्याउनको लागि मुहानबाट पाइप बिछ्याउने काममा लागिरहेका छन् ।
११६ घरधुरी रहेको वडा नं. ७ को खानेपानीको समस्या निकै पुरानो हो । लिभिङ्ग वाटर नेपाल नामक संस्थाको पहलमा उक्त कामको थालनी भएको हो ।
उक्त प्रोजेक्टको लागि १८ लाख रकम लिभिङ्ग वाटर नेपालबाट प्राप्त भएको र बाँकी जनश्रमदानबाट गर्न लागिपरेको उपभोक्ता समितिका अध्यक्ष शुभोत तामाङ्ग बताउँछन् । मुहानबाट बरबन्दी १५ किलो मिटरको दूरीमा पर्दछ ।
प्रत्येक घरधुरीबाट १ जनाका दरले उपस्थित भई विगत एक हप्तादेखि निरन्तर रूपमा श्रमदान भइरहेको ७ नम्बर वडाका अध्यक्ष रामकृष्ण तामाङ्ग बताउँछन् ।
वर्षौंदेखिको खानेपानीको समस्या समधान हुन लागेकोमा स्थानीयहरु हर्षित छन् । भइरहेको कार्यलाई थप हौसला प्रदान गर्न ककनीका युवा नेता ऋषिकुमार तामाङ्ग बरबन्दी पुगेका थिए ।

