नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्स भिड्दै छन् ।
गुजरात र चेन्नईबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । खेल गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा हुनेछ । खेलअघि उद्घाटन समारोहमा गायक अरिजित सिंह र नायिका रश्मिका मान्डानाले प्रस्तुती दिनेछन् ।
गुजरातको कप्तानी हार्दिक पाण्डेले गर्नेछन् भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्दैछन् । दुवै टिम जारी सिजनमा विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रदै छन् ।
आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाईटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाईटन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र पन्जाब किंग्स रहेका छन् ।
हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई–दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । ७४ खेल खेलिने आईपीएल आगामी २८ मे सम्म जारी रहने छ जसमा लिग चरणमा हरेक टोलीले १४-१४ खेल खेल्नेछ ।
यस सिजनबाट इन्डियन प्रिमियर लिगमा ३ वर्षपछि होम एण्ड अवे फर्म्याटमा प्रतियोगिता सुरु हुन लागेको छ । अर्थात् एक टिमले ७ खेल आफ्नो घरेलु मैदानमा खेल्दा बाँकी लिगचरणका खेल अवे मैदानमा खेल्ने छ ।