नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ चैत ।
प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १७औँ मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । तर खेलको २४औँ मिनेटमा नेपालका आयुष घलानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपाल थप एक गोल गर्यो ।
खेलको ८७औँ मिनेटमा मनिष डाँगीले अन्जन विष्टले उपलब्ध गराएको पासमा गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० अमेरिकी डलर पाए । उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै भने उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलरमा चित्त बुझायो ।
त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे । प्रतियोगिताको विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको प्रतियोगितामा नेपालसहित लाओस र भुटानको सहभागिता रहेको थियो ।