आईपीएलमा गुजरात टाईटन्सको विजयी सुरुवात, चेन्नाई ५ विकेटले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) टी-२० क्रिकेटको उद्घाटन खेलमा गुजरात टाईटन्सले विजयी भएको छ । शुक्रबार भएको खेलमा साबिकको विजेता गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

योसँगै आईपीएलमा यी दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । चेन्नाईका लागि ऋतुराज गायकवाडले ९२ रनको अर्धशतकीय पारी खेले भने मोईन अलिले २३ रन बनाए । त्यस्तै शिबम दुवेले १९ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनी १४ रनमा अविजित रहे । गुजरातको लागि मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान २-२ विकेट लिए भने जोश लिटिलको भागमा १ विकेट रह्यो ।



१७८ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १९ ओभर २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि शुभमन गिलले ६३ रनको अर्धशतकीय पारी खेले भने विजय शंकरले २७ रन बनाए । यस्तै रिद्धिमान शाहले २५ रन जोड्दा साई सुदर्शनले २२ रन बनाए । यस्तै राहुल तेवातिया १५ र राशिद खान १० रनमा अविजित रहे । चेन्नाईका लागि राजवर्धन हांगर्गेकरले ३ विकेट लिए भने तुसारदेश पाण्डे र रविन्द्र जडेजाको भागमा समान १-१ विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने चार बजे पन्जाब किंग्स र कोलकाता नाईट राइडर्स आमने सामने हुनेछन् भने दोस्रो खेलमा राति पौने आठ बजे लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।

 

सम्बन्धित समाचार