नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी भएको छ । सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित जारी प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
प्रतियोगितामा लखनउको भने यो पहिलो हार हो । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । चेन्नईका लागि ओपनर ऋतुराज गायकवाड र अर्का ओपनर डेभोन कन्वेले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरेका थिए ।
गायकवाडले ५७ रनको अर्धशतकीय पारी खेले भने कन्वेले ४७ रन बनाए । त्यस्तै अम्बादी राइडु २७ रनमा अविजित रहँदा शिवम दुवे २२ रानी आउट भए भने मोईन अलिले १९रन जोडे । लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३-३ विकेट लिए भने आवेश खानको नाममा १ विकेट रह्यो ।
२१८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्र बनाउन सक्यो । लखनउका लागि कायल मेयर्सले ५३ रनको अर्धशतकीय पारी खेले भने निकोलस पुरन ३२ रन बनाए । यस्तै आयुष बदोनीले २३, मार्कुस स्टोईनसले २१ र कृष्णपा गौथम १७ रनमा अविजित रहे ।
चेन्नईका लागि मोईन अलिले ४ विकेट लिए भने तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरको भागमा१ विकेट रह्यो । जितसँगै चेन्नई २ खेलमा २ अंक जोड्दै छैटौं स्थानमा उक्लेको छ भने २ खेलमा समान २ अंकनै जोडेको लखनउ तेस्रो स्थानमा रहेको छ । प्रतियोगितामा आज दिल्ली क्यापिटल्स र गुजरात टाईटन्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे हुनेछ ।