नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ चैत ।
भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाईटन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गको हो ।
प्रतियोगितामा गुजरातको यो लगातार दोस्रो जित हो भने दिल्लीको लगातार दोस्रो हार । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ३७ रन बनाए भने अक्षर पटेलले ३६ रन जोडे । त्यस्तै सरफराज खान ३० र अबिशेक पोरेलले २० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । गुजरातका लागि मोहम्मद सामी र राशिद खानले समान ३-३ लिए भने अल्जारी जोशेफको भागमा २ विकेट रह्यो ।
१६३ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका सहज जित दिलाउन साई शुदर्शनले ६२ रनको अर्धशतकीय पारी खेले भने डेबिड मिलर ३१ रनमा अविजित रहे । यस्तै विजय शंकर २९ रन जोड्दा ऋद्धिमान शाह र शुभमन गिलले समान १४-१४ रन बनाए । दिल्लीका लागि एनरिक नोर्कियाले २ विकेट लिए भने खलिल अहमद र मिचेल मार्शको भागमा समान १-१ विकेट रह्यो ।
लगातार दोस्रो जित हात पारेको गुजरात २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा भने समान खेलमा अंक विहिन दिल्ली तालिकाको आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज एक खेल हुनेछ । आज हुने खेलमा पन्जाब किंग्स र राजस्थान रोयल्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।