नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्स विजयी भएको छ । बुधबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई पाँच रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पन्जाबको यो लगातार दोस्रो जित हो भने राजस्थानको पहिलो हार । भारतको गुवाहाटिमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । पन्जाबका लागि कप्तान शिखर धवन र प्रभसिमरन सिंहले टोलीलाई उत्कृष्ट सुरुवात दिँदै पहिलो विकेटको लागि ९० रनको साझेदारी गरेका थिए ।
धवन र सिंहले अर्धशतकीय पारी खेल्दै क्रमश: ८६ र ६० रन बनाएका थिए । त्यस्तै जितेश शर्मा २७ रन जोड्दा साहरुख खानले ११ रनको योगदान दिए । राजस्थानको लागि जेसन होल्डरले २ विकेट लिँदा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलको भागमा समान १-१ विकेट रह्यो । १९८ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रनमा बनाउन सक्यो र ५ रनको साँघुरिलो हार व्यहोर्यो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ४२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हेटमायर ३६ रन जोड्दा ध्रुब जुरेलले ३२ रनमा अविजित रहे । यसैगरी देवदत्त पाडिक्कल २१ र रियान पराग २० रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । पन्जाबका लागि नाथन एलिसले ४ विकेट लिए भने अर्शदीप सिंहको भागमा २ विकेट रह्यो ।
लगातार दोस्रो जित दर्ता गरेको पन्जाब २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा २ अंक जोडेको राजस्थान चौथों स्थानमा रहेको छ । प्रतियोगिता आज एक खेल हुनेछ । आजको खेलमा कोलकत्ता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार राती पौने आठ बजे हुनेछ ।