नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ चैत ।
भारतमा जारीइन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले विजयी भएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८१ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा कोलकत्ताको यो पहिलो जित हो भने बैंगलोरको पहिलो हार । कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
कोलकत्ताका लागि शार्दुल ठाकुरले ६८ र रहमानुल्लाह गुर्वाजले ५७ रनको अर्धशतकीय पारी खेले भने रिंकु सिंह ४६ रन जोडे । ८९ रन जोड्दा ५ विकेट गुमाएको कोलकत्ताको इनिंग्स सिंह र ठाकुरले छैटौं विकेटको लागि १०३ रनको शतकीय साझेदारी गरेका थिए । बैंगलोरका लागि डेबिड बिल्ली र कर्ण शर्माले समान २-२ विकेट लिए भने मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलको भागमा समान १-१ विकेट रह्यो ।
२०५ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको बैंगलोर १७ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसको २३ रननै सर्वाधिक रह्यो । यस्तै विराट कोहली २१ बनाई आउट भए भने डेबिड बिल्ली २० रनमा अविजित रहे । त्यस्तै माईकल ब्रेसवेलले १९ र आकाश दिपले १७ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
कोलकत्ताका लागि वरुण चक्रवर्तीले ४ विकेट लिए भने सुयश शर्मा ३ विकेट लिँदा सुनिल नारेनले २ र शार्दुल ठाकुरको भागमा १ विकेट रह्यो । पहिलो जित दर्ता गरेको कोलकत्ता २ खेलमा १ जित र १ हारसहित २ अंक जोड्दै तेस्रो स्थानमा छ भने समान खेलमा २ अंक जोडेको बैंगलोर रन रेटमा पछाडी पर्दै सातौं स्थानमा रहेको छ । प्रतियोगिता आज एक खेल हुनेछ । आजको खेलमा लखनउ सुपर जाइन्ट्स र सनराईजर्स हैदराबाद भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार राति आठ बजे सुरु हुनेछ ।