नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
भारतमा जारीइन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लखनउले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा लखनउको यो दोस्रो जित हो भने हैदराबादको लगातार दोस्रो हार । लखनउको घरेलु मैदान एकना स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ रन बनाए भने अनोमलप्रित सिंहले ३१ रनको योगदान दिए । त्यस्तै अब्दुल सामद २१ रनमा अविजित रहँदा वासिन्टन सुन्दर १६ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । लखनउको लागि क्रुनाल पान्ड्याले ३ विकेट लिए भने अमित मिश्राले २ विकेट लिँदा यश ठाकुर र रवि विश्नोईको भागमा समान १-१ विकेट रह्यो ।
१२२ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको लागि कप्तान केएल राहुलले ३५ रन बनाए भने क्रुनाल पान्ड्याले ३४ रन जोडे । यस्तै कायल मेयर्स १३ रनमा बनाई आउट भए भने निकोलस पुरन ११ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे । हैदराबादका लागि आदिल राशिदले २ विकेट लिए भने भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकको भागमा समान १-१ विकेट रह्यो ।
प्रतियोगितामा दोस्रो जित दर्ता गरेको लखनउ ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने २ खेलमा अंक जोड्न नसकेको हैदराबाद तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स नेपाली समय अनुसार दिउँसो पौने चार बजे खेल्दै छन् भने दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स नेपाली समय अनुसार राति पौने आठ बजे भिड्दै छन् ।