नेपाल ओलम्पिक छनोटबाट बाहिरियो, भियतनाम २-० ले विजयी

भियतनामसँग लगातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल आगामी वर्ष फ्रान्सको पेरिसमा हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार भएको समूह ‘सी’अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २-० ले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको एकतर्फी खेलमा भियतनामको लागि दुवै गोल फाम हाइ यनले गरिन् । खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा यनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै त्यसको एक मिनेट पनि बित्न नपाउँदै खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता पनि दोब्बर बनाइन् ।



पहिलो हाफ २-० मा सकिएको खेलमा त्यसपछि दुवै टोलीबाट गोल भए र खेल भियतनामले २-० ले आफ्नो पक्षमा पार्यो । यद्यपि पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले गोल गर्ने केही सुन्दर अवसर खेर फालेको थियो ।

जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको थियो । यस समूहमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरेका हुन् ।

सम्बन्धित समाचार