आईपीएलमा राजस्थान र चेन्नई विजयी

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ५७ रनले र दोस्रो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेट पराजित गरेको हो ।

जारी प्रतियोगितामा राजस्थानको यो लगातर दोस्रो जित हो भने दिल्लीको लगातार दोस्रो हार । भारतको गोहावाटीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जोस बटलरले ७९ र अर्का ओपनर यसस्वी जैसवालले ६० रनको अर्धशतकीय पारी खेले ।



राजस्थान

बटलर र जैसवालले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गरेका टोलीलाई राम्रा सुरुवात दिलाएका थिए । त्यस्तै शिमरन हिटमायरले ३९ रनमा अविजित रहे । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए भने रोभमन पावेल र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।

२०० रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान तथा ओपनर डेविड वार्नरले ६५ रनको अर्धशतकीय पारी खेलेभने ललित यादवले ३८ रन बनाउनु बाहेक अन्यले खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले समान ३-३ विकेट लिए भने रविचन्द्र आश्विनले २ विकेट लिँदा सन्दीप शर्माको भागमा १ विकेट रह्यो ।

दिल्ली

जितसँगै राजस्थान ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोड्दै शीर्ष स्थानमा छ भने लगातार दोस्रो खेलमा हार व्यहोरेको दिल्ली अंकबिहिन रहँदै तालिकाको नवौं स्थानमा रहेको छ ।

त्यसैगरी आईपीएलमा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेट पराजित गरेको छ । जारी प्रतियोगितामा चेन्नईको यो लगातार दोस्रो जित हो भने मुम्बईको यो लगातार दोस्रो हार । मुम्बईको घरेलु मैदान वान्खाड़े स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

मुम्बईका लागि ईशान किशनले ३२ रन बनाए भने टिम डेभिडले ३१ रनको योगदान दिए । यस्तै तिलक बर्माले २२ रन जोड्दा कप्तान रोहित शर्माले २१ रन बनाए । चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने मिचेल स्यान्टनर,तुषार देशपान्डेले समान २-२ विकेट लिँदा सिसान्डा मंगलाको भागमा १ विकेट रह्यो ।

१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १८ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका लागि अजिक्या रहाणेले ६१ रनको अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ४० रन बनाए । रहाणे र गायकवाडले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यस्तै शिवम दुबेले २८ रन बनाई आउट भए भने अम्बाती रायुडू २० रनमा अविजित रहे । मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १-१ विकेट लिए ।

मुम्बई

जितसँगै चेन्नई ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ भने लगातार दोस्रो हारसहित अंकबिहिन बनेको मुम्बई तालिकाको आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा गुजरात टाईटन्स र कोलकत्ता नाइट राईडर्स नेपाली समय अनुसार दिउँसो पौने चार बजे खेल्दै छन् भने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स नेपाली समय अनुसार राति पौने आठ बजे भिड्दै छन् ।

 

सम्बन्धित समाचार