नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ बैशाख ।
एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (मंगलबार) भएको खेलमा मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले ७६ रनको अर्धशतकीय पारी खेले भने विरन्दिप सिंहले ४६ रन बनाए । ओपनर यी दुईले दोस्रो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरे ।
त्यस्तै खिजार ह्यायातले २२ रन बनाई आउट भए भने मोहम्मद आमिरले १७ रन जोड्दा साजरुल इद्रासले १५ रनमा अविजित रहे । यस्तै विजय उन्नी १२ मा आउट हुँदा सायद अजिजले १३ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए भने ललित नारायण राजवंसीले २ विकेट लिँदा गुल्सन झाको भागमा १ विकेट रह्यो ।
आज पहिलो खेल मलेसियासँग खेलेको नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ, तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।
बैशाख ५ देखि बैशाख १८ गते सम्म हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ । दुवै मैदानमा हरेक दिन समान १-१ खेल हुनेछन् भने फाइनल खेल भने त्रिवि मैदानमा हुनेछ । एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।