आईपीएलमा मुम्बईद्वारा हैदराबाद पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई १४ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा मुम्बईको यो लगातार तेस्रो जित हो भने हैदराबादको तेस्रो हार । मुम्बईको घरेलु मैदान राजिब गान्धी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीलेनिर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । मुम्बईका लागि क्यामरुन ग्रिनले ६४ रनको अर्धशतकीय पारी खेले भने ईशान किशनले ३८ रन बनाए । त्यस्तै तिलक बर्मा ३७ रनजोड्दा टिम डेबिडले १६ रनमा आउट भए ।



मुम्बई

हैदराबादका लागि मार्को यानसनले २ विकेट लिए भने टि नटराजन र भुवनेश्वर कुमारको भागमा समान १-१ विकेट रह्यो । १९३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको हैदराबाद १९ दशमलब ५ ओभरमा अलआउट हुँदै १७८ रनमा समेटियो । हैदराबादका लागि मंयक अग्रवालले ४८ रन बनाए भने हेनरिक केल्सनले ३६ जोडे । यस्तै कप्तान एडेन माकरमले २२ रन बनाई आउट भए भने मार्को यानसनले ६ बलमा १३ र वासिंटन सुन्दर १० रन जोडे ।

हैदराबाद

मुम्बईका लागि जेसन बेहरानडफ, राईली मेरीडेथ र पियुष चावलाले समान २-२ लिए भने अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनको भागमा समान १-१ विकेट रह्यो । लगातार तेस्रो जित हात पारेको मुम्बई ५ खेलमा ६ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको हैदराबाद नवौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज खेल हुनेछ। आज हुने खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।

 

 

सम्बन्धित समाचार