नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ बैशाख ।
काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल(एसिसी) प्रिमियर कपमा आज दुई खेल हुँदैछन् । आज (शुक्रबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत नेपाल र ओमान र मूलपानी क्रिकेट मैदानमा समूह ‘बी’ अन्तर्गत युएई र हङकङ भिड्दै छन् ।
दुवै खेल बिहान ९ बजे सुरु हुनेछ । सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले ओमानविरुद्धआफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्दैछ । नेपाल जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदै छ भने ओमान पनि घरेलु नेपाललाई पराजित गर्दै दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई र ओमानले कतारलाई हराएको थियो । आज ओमानविरुद्ध दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।
दुवै मैदानमा हरेक दिन समान १-१ खेल हुनेछन् भने फाइनल खेल भने त्रिवि मैदानमा हुनेछ । एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।