नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ बैशाख ।
काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल(एसिसी) प्रिमियर कपमा नेपालले ओमान सामू जितका लागि ३११ रनको लक्ष्य दिएको छ । आज (शुक्रबार) किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो ।
नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रनको शतकीय पारी खेले भने सोमपाल कामी अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले ।
खराब सुरुवात गरेको नेपालको पारी कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले तेस्रो विकेत्लो लागि ५४ रनको साझेदारी गरेका थिए । भिम ३३ रन बनाई आउट भए भने रोहितले २३ रन जोडे ।
यस्तै पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन जोड्दा करण केसीले २९ रनमा अविजित रहे । सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । ओमानका लागि आयान खानले २ विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहको भागमा समान १-१ विकेट रह्यो ।
सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल हो । नेपाल जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदान उत्रदै छ भने ओमान पनि घरेलु नेपाललाई पराजित गर्दै दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई र ओमानले कतारलाई हराएको थियो । आज ओमानविरुद्ध दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल साउदी अरेबियासंग मुलपानी मैदानमा वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग भिड्नेछ ।
एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।