आईपीएलमा गुजरात र पन्जाब विजयी 

भारतमा जारी  इन्डियन प्रिमियर लिग(आईपीएल)मा गुजरात टाईटन्स र पन्जाब किंग्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई ७ रनले र दोस्रो खेलमा पन्जाबले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको  हो ।

जारी प्रतियोगितामा गुजरातको यो चौथो जित हो भने लखनउको चौथो हार । शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ७ रनले पराजित गर्दै गुजरातले प्रतियोगितामा चौथो जित निकालेको हो ।



लखनउको घरेलु मैदान भारत रत्न अटल बिहारी बाजपेयी ऐकना क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले ६६ रनको अर्धशतकीय पारी खेले भने ऋद्धिमान शाहले ४७ रन बनाए ।  लखनउका लागि कुर्नाल पान्ड्या र मार्कस स्टोईनेसले समान २-२ विकेट लिए भने अमित मिश्रा र नभिन उल हकको भागमा समान १-१ विकेट रह्यो ।

१३६ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रन मात्र बनायो । लखनउका लागि ओपनर तथा कप्तान केएल राहुलले ६८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्  । त्यस्तै कायल मेर्यसले २४ रन बनाई आउट भए भने कुर्नाल पान्ड्याले २३ रन जोडे ।

गुजरातका लागि नूर अहमद र मोहित शर्माले समान २-२ विकेट लिए भने राशिद खानको भागमा १ विकेट रह्यो । जितसँगै गुजरात ६ खेलमा ८ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ भने ७ खेलमा ८ अंक जोडेको लखनउ दोस्रो स्थानमा कायमै रहेको छ ।

त्यसैगरी आईपीएल अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गर्दै पन्जाबले प्रतियोगितामा चौथो जित निकालेको हो ।

मुम्बईको घरेलु मैदान वांगखडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । पन्जाबका लागि कप्तान साम करनले ५५ रनको अर्धशतकीय पारी खेले भने  हरप्रित सिंहले ४१ रन बनाए । त्यस्तै अथर्व ताईडे २९ रन बनाई आउट भए भने प्रभशिमरन सिंहले २६ र जितेश शर्मा २५ रन बनाए ।

पन्जाब

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान २-२ विकेट लिए भने जेसन बेहरानड्रफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करको भागमा समान १-१ विकेट रह्यो  ।

२१५ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सुर्यकुमार यादव ६७ र क्यामरुन ग्रीनले ५७ रन्को अर्धशतकीय पारी खेले पनि पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै ओपनर तथा कप्तान रोहित शर्माले ४४ र टिम डेभिड २५ रनमा अविजित रहे । पन्जाबका लागि अर्शदिप सिंहले ४ विकेट लिए भने लियम लिविंस्टोन र नाथन एलिसको भागमा समान १-१ विकेट रह्यो ।

जितसँगै पन्जाब ७ खेलमा ४ जित र ३ हार सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने ६ खेलमा ३ हार र ३ जित सहित ६ अंक जोडेको मुम्बई सातौं स्थानमा रहेको छ ।

 

सम्बन्धित समाचार