नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा चेन्नाई सुपर किंग्स विजयी भएको छ । आइतबार राति भएको खेलमा चेन्नाईले कोलकत्ता नाईट राईडर्सलाई ४९ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा चेन्नाईको यो पाँचौं जित हो भने कोलकत्ताको लगातार चौथो हार । कोलकत्ताको घरेलु मैदान ईडन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर अजिक्या रहाणेले ७१, डेभोन कन्वे ५६ र शिभम दुवेले अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ३५ रन बनाए ।
कोलकत्ताका लागि कुलवन्त खेजरोलीया २ विकेट लिए भने वरुण चक्रवर्ती र सुयश शर्माको भागमा समान १-१ विकेट रह्यो । २३६ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको कोलकत्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि जेसन रोयले ६१ र रिंकु सिंहले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई तेस्रो जित दिलाउन सकेनन् । त्यस्तै कप्तान नितिश राणा २७ रन बनाई आउट भए भने वेंकटेस अय्यरले २० रन जोडे । चेन्नाईका लागि महेश थिक्सना र तुशार देशपान्डेले समान २-२ विकेट लिए भने मधिसा पथिराना, रविन्द्र जडेजा, मोईन अलि र आकाश सिंहको भागमा समान १-१ विकेट रह्यो ।
पाँचौ जित हात पारेको चेन्नाई ७ खेलमा ५ जित र २ हारसहित १० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा २ जित र ५ हार व्यहोर्दै ४ अंक जोडेको कोलकत्ता आठौं स्थानमा रहेको छ ।