नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ बैशाख ।
नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले अंक बाँडेपछि नेपाल अन्तिम चारमा पुगेको हो ।
मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक-एक अङ्क बाँडेका हुन् ।
नेपाल ३ खेलमा ५ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थान छ भने ओमान समान खेलबाट ४ अङ्कसहित दोस्रो स्थानमा, समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ । त्यस्तै साउदीअरब २ अङ्कका साथ चौथो स्थानमा छ भने कतारले भने अङ्क जोड्न सकेको छैन ।
त्यस्तै किर्तीपुरस्थित त्रिवि मैदानमा समूह ‘बी’ का हङकङ र बहराईनबीच खेलपनि रद्द हुँदै दुवै टोलीले समान १-१ अंक बाँडेका छन् । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानले हराएको थियो । अब नेपालले अन्तिम खेल वैशाख १४ गते कतारसँग खेल्नेछ ।
एसिया कप छनोटको आधारका रूपमा रहेको प्रतियोगितामा १० राष्ट्रको सभागिता रहेको छ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते त्रिवि मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।