नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ बैशाख ।
भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदराबादलाई ७ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा दिल्लीको यो दोस्रो जित हो भने हैदराबादको पाँचौं हार । हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।
दिल्लीका लागि मनिष पान्डे र अक्षर पटेललेले समान ३४-३४ रन जोड्दा मिचेल मार्शले २५ रन बनए । त्यस्तै कप्तान डेभिड वार्नरले २१ रन बनाए । हैदराबादका लागि वासिंटन सुन्दरले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिँदा टि नटराजनको भागमा १ विकेट रह्यो ।
१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन मात्र बनायो । हैदराबादका लागि मंयक अग्रवालले ४९ रन बनाए भने हेनरिक केल्सनले रन जोडे । त्यस्तै वासिंटन सुन्दरले २४ रनमा अविजित रहँदा राहुल त्रिपाटीले १५ रन बनाए ।
दिल्लीका लागि एनरिच नोर्किया र अक्षर पटेलले समान २-२ विकेट लिए भने ईशान्त शर्मा र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो । लगातार दोस्रो जितसँगै दिल्ली ७ खेलमा ४ अंक जोड्दै तालिकाको पुछारमा कायमै रहेको छ भने समान खेलमा ४ अंक नै जोडेको हैदराबाद नवौं स्थानमा यथावत् रहेको छ ।