नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ बैशाख ।
नेपाल अपराजित रहँदै एसिसी प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । आज(बिहीबार) भएको समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै एसिसी प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
किर्तीपुरस्थित टियु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १५७ रन मात्र बनाएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ४२ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले २७ रन जोडे ।
त्यस्तै ओपनर आसिफ शेखले १९ रन बनाई आउट भए भने दीपेन्द्र सिंह ऐरीले १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११-११ रन जोडे । १० औं विकेटको लागि सन्दीप र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात नेपालले १५० रन कटाएको थियो । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३-३ तथा गयान मुनवाराको भागमा २ विकेट रह्यो ।
१५८ रनको लक्ष्य लिएर मदन उत्रेको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । कतारका लागि खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५-१५ र अमिर फरिकले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहारो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दपि लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिँदा ललितनारायण राजवंशीको भागमा २ विकेट रह्यो ।
जितसँगै नेपाल समूह ‘ए’ को समूह विजेता बनेको छ भने ओमान समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ लिगको शीर्ष स्थनमा छ भने ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । शनिबार नेपालले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।
१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । समूह ‘ए’ को विजेता र समूह ‘बी’ का उपविजेता तथा समूह ‘बी’ को विजेता तथा समूह ए को उपविजेता बीच सेमिफाइनल खेल हुनेछ ।
दुई सेमिफाइनलका विजेताबीच सोमबार फाइनल खेल रहेको छ । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।