नेपाल एसिसी प्रिमियर कपको फाइनलमा, उपाधिको लागि युएईसँग खेल्ने  

नेपाल एसिसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि खेल रद्द भएसँगै नेपाल समूह विजेता भएको कारण सोझै फाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो । वर्षाको कारण नेपाल र कुवेतबीचको सेमिफाइनल खेल ४२ ओभरमा छोट्याईएको थियो ।



टियु मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमश: ९४ र ५७ रन बनाए ।

यी दुईले चौथो विकेटका लागि १०९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । त्यस्तै कुशल भुर्तेल ४३ रन बनाई आउट भए भने आसिफ शेखले ३१ रन जोडे । यी दुईले पहिलो विकेटको लागि ७७ रनको साझेदारी गरेका थिए । यस्तै सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३-३ विकेट लिए भने सयद मोनिव र यासिन पटेलको भागमा समान १-१ विकेट रह्यो ।

२८१ रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन जोड्दा खेल वर्षाका कारण पुन: रोकिएको थियो । त्यसपछि खेल रद्ध भएको थियो । त्यसैले नेपाल एसिसी  प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।

यस्तै मुलपानीमा भएको अर्को सेमिफाइनल खेलमा युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको छ । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले  ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएपछि युएई २ रनले अघि रहेको थियो । फाइनल खेल सोमबार हुनेछ भने तेस्रो स्थानका लागि कुवेत र ओमानले भोलि (आइतबार) खेल्नेछन् ।

 

सम्बन्धित समाचार