नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ बैशाख ।
भारतमा जारी इन्डियन १६ औं संस्करणको प्रिमियर लिग(आईपीएल)मा पन्जाब किंग्स विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा पन्जाबले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पन्जाबको यो पाँचौं जित हो भने चेन्नाईको चौथों हार । चेन्नाईको घरेलु मैदान एम ए चिदम्बरम स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनाएको थियो । चेन्नाईका लागि डेभोन कन्वेले ९२ रनको अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ३७ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै शिभम दुवे २८ रन बनाई आउट भए भने कप्तान महेन्द्र सिंह धोनी १३ रनमा अविजित रहे । पन्जाबका लागि सिकन्दर राजा, साम करन, अर्शदिप सिंह र राहुल चहरले समान १-१ विकेट लिए ।
२०१ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले निर्धारित २० औं ओभमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका लागि ओपनर प्रभसिमरन सिंहले ४२ रन बनाए भने लियम लिविङ्गस्टोनले ४० रन जोडे । यस्तै साम करनले २९ रन बनाई आउट भए भने कप्तान शिखर धवनले २८ रन जोड्दा जितेश शर्माले २१ र सिकन्दर राजा १३ रनमा अविजित रहे ।
चेन्नाईका लागि तुसार देशपान्डेले ३ विकेट लिए भने रविन्द्र जडेजाले २ विकेट लिँदा मथिशा पथिरानाको भागमा १ विकेट रह्यो । पाँचौं जित हात पारेको पन्जाब ९ खेलमा ५ जित र ४ हारसहित १० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलमा ५ जित र ४ हारका साथ १० अंक नै जोडेको चेन्नाई रन रेटमा अघि रहँदै चौथो स्थानमा रहेको छ ।